१. व्यावसायिक प्रयोजनका लागि ५० लाखभन्दा बढीको भवन, shopping कम्प्लेक्स, सडक, पुल, रङ्गशाला, विद्युत उत्पादन गृह र यस्तै प्रकृतिका स्थायी संरचना निर्माण गर्दा भ्याटमा दर्ता भएको ठेकेदार सँग मात्र गराउनुपर्दछ।
२. यो व्यवस्था भ्याटमा दर्ता भएका वा नभएका व्यावसायिक प्रयोजनका लागि रु ५० लाखभन्दा बढीको स्थायी संरचना निर्माण गरी बिक्री गर्ने वा स्थायी सम्पत्ति (Fixed Assets) को रुपमा लेखाङ्कन गर्ने सबै व्यवसाय लागि लागू हुन्छ।
३. रिभर्स भ्याट गणना गर्ने प्रयोजनका लागि यस्ता सम्पत्तिहरू जति वर्ष लगाएर निर्माण भएको भए तापनि एकै स्थानमा निर्माण भएको हुनुपर्दछ, तर आवास गृह, पुल, सडक जस्ता संरचनाहरू फरक फरक स्थान( जस्तै शाखा कार्यालय, मुख्य कार्यालय, उद्योग क्षेत्र, गोदाम क्षेत्र आदि जहाँसुकै) मा निर्माण भएता पनि समग्रमा रु ५० लाखभन्दा बढी हुन्छ भने यो व्यवस्था लागु हुन्छ।
४. संरचना निर्माणमा लागेको वित्तीय खर्च (Financial Expenses) बाहेकका अन्य सम्पूर्ण खर्चहरू (जस्तै: नक्साङ्कन, डिजाइन निर्माण, सुपरिवेक्षण, विद्युतीकरण, सेनिटेसन, रंगरोगन, आन्तरिक सजावट आदि समेत) ५० लाख रकम गणना गर्ने प्रयोजनका लागि जोड्नु पर्दछ।
५. यदि बुँदा नम्बर ४ मा उल्लेखित सम्पूर्ण खर्चहरू जोड्दा सम्पत्तिको लागत रु ५० लाखभन्दा बढी हुन्छ भने सम्पत्तिको करयोग्य मूल्य गणना गर्ने प्रयोजनका लागि सम्पत्ति निर्माण पूर्व गरिने खर्चहरू (जस्तै: जग्गा खरिद, जग्गाको स्तर उन्नति, नक्साङ्कन, नक्सा स्वीकृत गर्न लाग्ने खर्च, वित्तीय लागत, तेस्रो पक्षलाई भुक्तानी गर्न लागेको सुपरिवेक्षण खर्च आदि) समावेश नगरी भ्याट लाग्ने र नलाग्ने अन्य सम्पूर्ण खर्चहरू समावेश गर्नुपर्दछ।
६. बुँदा नम्बर ५ बमोजिम गणना भएको करयोग्य मूल्यको १३ प्रतिशतले हुने भ्याट रकमबाट आफूले उक्त सम्पत्ति निर्माणका लागि खरिद गरेका सम्पूर्ण वस्तु तथा सेवा (निर्माणका लागि चाहिने सामान, ज्याला, सेवा आदि) मा तिरेको भ्याट रकम घटाई बाँकी रकम रिभर्स भ्याट बापत दाखिला गर्नुपर्दछ।
७. रिभर्स भ्याट बापतको रकम राजस्व शीर्षक नम्बर ३३३१७ मा दाखिला गर्नुपर्दछ।
८. यसरी भ्याट बिल नभए बापत तिरेको रिभर्स भ्याट रकम कट्टी गर्न पाइँदैन, सम्बन्धित सम्पत्तिकै मूल्यमा पुँजीकृत गर्नुपर्दछ । तर भ्याट बिल भएका खर्च भने भ्याटमा दर्ता भएको व्यवसायले खरिद खातामा प्रविष्टि गरी कट्टी गर्न पाउँछ।
९. भ्याटमा दर्ता नभएका व्यवसायीको हकमा खरिदमा तिरेको भ्याट र रिभर्स चार्ज वापत तिरेको सम्पूर्ण भ्याट रकम सम्बन्धित सम्पत्तिकै मूल्यमा पुजीकृत गर्नुपर्दछ।
१०. यस्तो रिभर्स भ्याट बापतको रकम सम्बन्धित महिना सकिएको २५ दिनभित्र दाखिला गरिसक्नु पर्दछ।
११. व्यावसायिक भवन अब यस्तै स्थायी प्रकृतिका संरचना भाडामा लिएर सञ्चालन गर्नेका लागि यो व्यवस्था लागु हुँदैन ।
१२. यसो नगरेको पाइएमा कर अधिकृतले कम दाखिला गरेको कर रकमको २५% रकम जरिवाना गर्न सक्दछ, साथमा ब्याज र थपदस्तुर समेत तिर्नुपर्ने हुन्छ।
⚠️ तपाईँले निर्माण गरेको वा गर्न लागेको स्थायी संरचना (जस्तै: विद्यालयका लागि स्कुल भवन, फ्याक्ट्रीका लागि फ्याक्ट्री भवन, गोदाम, कार्यालय भवन, सडक, पुल, गार्ड भवन, पशुपन्छी पालन गर्ने खोर, हस्पिटलका लागि भवन आदि) को लागत ५० लाखभन्दा बढी छ भने एकपटक आफ्नो कर परामर्शदाता लाई सम्पर्क राख्नुहोला । विगतमा निर्माण गरेको वा सम्बन्धित आर्थिक वर्षमा निर्माण गरेको जुनसुकै अवस्थामा पनि कर अधिकृतले पूर्णकर लेखा परीक्षणका बखत यो विषय अनिवार्य जाँच गर्दछ ।
☎️ थप जानकारीका लागि नजिकैको करदाता सेवा कार्यालय / आन्तरिक राजस्व कार्यालयमा सम्पर्क राख्नुहोला ।
← Back