- विगत १२ महिनामा करयोग्य वस्तु तथा ढुवानी सेवाको हकमा ५० लाख, करयोग्य सेवाका हकमा ३० लाख र करयोग्य वस्तु तथा सेवा मिश्रित व्यवसायिक हकमा ३० लाख कारोबार पुगेको छैन भने भ्याट दर्ता खारेजीका लागि निवेदन दिन सकिन्छ ।
- दर्ता खारेजी गर्ने अवधि सम्मको भ्याट विवरण दाखिला गर्नुपर्दछ। (उदाहरण: २०८१ श्रावणमा खारेज गर्न चाहेमा २०८१ अषाढ सम्मको विवरण दाखिला भएको हुनुपर्दछ । )
- चालु अवधिको अनुसूची ११ बमोजिमको करदाता पोर्टलमा VAT close of business entry फारम प्रविष्टि गर्नुपर्दछ ।
- अनुसूची ११ बमोजिमको फारम भर्दा स्टकमा रहेका करयोग्य वस्तुको १३ प्रतिशत र पुँजीगत सम्पत्तिमा क्रेडिट दाबी गरेको भए सो वस्तुको हालको बजार मूल्यको १३ प्रतिशत ले हुने रकम अन्य थप घटको डेविड तर्फको कोलममा इन्ट्री गर्नुपर्दछ। (यस्तो विवरण भर्दा आफ्नो कर परामर्शदाताको सल्लाह लिनुहोला । )
- यसरी विवरण प्रविष्टि गर्दा आउने भ्याट रकम राजस्व खातामा दाखिला गरी अनुसूची ११ बमोजिमको विवरण कर अधिकृत समक्ष पेश गर्नुपर्दछ ।
- अनुसूची ११ बमोजिमको विवरण पेश गरेको १५ दिनभित्र कर परीक्षणका लागि कागजात पेश गर्नुपर्दछ ।
- दर्ता खारेजीको लागि निवेदन दिएपछि दर्ता खारेजीको जानकारी नभएसम्म वा ३ महिनासम्म भ्याट विवरण पेश गर्नुपर्दछ ।
- दर्ता खारेजी परीक्षणबाट कुनै कर रकम निर्धारण भएमा सो रकम दाखिला गर्नुपर्दछ।
- यति गरिसकेपछि कर अधिकृतले हजुरको स्थायी लेखा नम्बरको प्रमाणपत्र बाट भ्याट दर्ताको विवरण हटाई स्थायी लेखा नम्बरको नयाँ प्रमाणपत्र जारी गर्न सक्नेछ।
- कार्यालयको सिस्टमबाट आफ्नो व्यवसाय भ्याटबाट खारेज भए नभएको हेर्नका लागि आन्तरिक राजस्व विभागको वेबसाइटमा गई स्थायी लेखा नम्बर खोजी बाट हेर्न सकिन्छ।
- अनुसूची ११ मा डेविड तर्फ अन्य थपघटमा हालेको भ्याट रकम मौज्दात का हकमा नाफा नोक्सान हिसाबमा खर्च लेख्न पाइन्छ भने पुँजीगत वस्तुको हकमा सम्बन्धित सम्पत्तिको मूल्यमा नै पुजीकृत गर्नुपर्दछ।
- भ्याट दर्ता खारेजी हुँदैमा दर्ता हुँदाका बखत गरेको कारोबारबाट सिर्जना भएको कर दायित्वबाट उन्मुक्ति पाइँदैन, त्यसैले भ्याट दर्ता खारेजी भइसकेपछि पनि भ्याट दर्ता हुँदाका बखतको कुनै कारोबार दर्ता खारेज भइसकेपछि फरक परेको जानकारी हुन आएमा कर अधिकृतले पुनः कर निर्धारण गर्न सक्नेछ।
थप जानकारीका लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राख्नुहोला ।